कविता : बिक्रीमा स्वाभिमान

लोकपाटी न्यूज

-अच्युत दाहाल
स्वाभिमान र मेहेनतले
पट्पटी फुटेको बाबुको ठेला
दुर्बल देख्ने तपाईंको आँखा पनि
रतन्दो लागेकै हो।

कुन खुन छ तपाईंसित जसले
अह्राइरहेछ गुलामी गर्न
र आफ्नै मेहेनतमाथि आफैँ
डिएनए परिक्षण गर्न?

तपाईंको चेतनाको वृत्त वरिपरि
कसरी जम्यो बोसो
कसरी धुलाम्मे भयो आफैँलाई झाँक्ने
आफ्नै मनको ऐना ?

उडुस् जस्तो खून चुसेर
सोलोडोलो भएको देह र
पृथ्वी जस्तो गोलो भुँडीको ओजनमा
किन चेप्ट्याउनु भो आफैँलाई ?

आफ्नै स्वाभिमानको खुट्टामा उभिएको
हुरीबतास झेलेका बाउलाई
कसरी कमजोर देख्न थाल्नुभो ?
आमाको ईमानदारिता माथि कसरी शंका गर्न थाल्नुभो ?

कुनै समय स्वाभिमानको बिगुल फुकेर हिँड्ने
र अहिले औसरवादमा त्यही स्वाभिमान रूपान्तरण गर्ने
तपाईं र त्यो तपाईंको दलाल तथाकथित नाइकेमा
केही फरक देख्दिनँ म।

प्रचार गर्दै हिँड्नुस् महाशय
स्वामिनाको लेभल टाँसिएको
झुटको कारखानाबाट बनिइएको सामानको।
किटान गर्न सिक्दै गर्नुस्
किटाणु भरिइएको आफैँ स्वच्छताको।

सिक्दै गर्नुस् कालोलाई सेतो र
सेतोलाई टाटेपाङ्ग्रो भन्न
सिक्दै गर्नुस् बेरङ्ग रङ्गलाई
चहकिलो भनि वकालत गर्न।

रङ्ग फेर्दाफेर्दै रङ्गहीन भएका भिडमा
सामेल भइसक्नुभएको छ
शुभकामना छ महाशय
तपाईंको फुस्रो अनुहारबाट अब अरू
के अपेक्षा गर्न सकिन्छ ?

घरमा एउटा बुख्याँचा बनाएर
त्यसमाथि आफ्नो निर्देशकको तस्वीर टाँसेर
सिक्दै गर्नुस् बारबार ढोग्न
सिक्दै गर्नुस् झुटो कसम र फोस्रो आश्वासनमा
डिफेन्स गर्दै ताली ठोक्न
सिक्दै गर्नुस् आफ्नो पराजित नाइकेलाई
काँधमा बोक्न।

तपाईंको भुत्ते कलम पनि
निकम्मा काममा लाउनुस् अब
लेख्नुस् होर्डिङतिर सहिदको सपनाको कुरा
ए उन्मुक्तिको व्यवसायी महाशय

ईमानको जिन्दगीबाट समाप्ती देखेर
बदनाम गल्लीतिर धाउन थाल्नुभो
तपाईंको यात्रालाई सलाम
स्वच्छ तपाईं किच्च्क झैँ खेल्न थाल्नुभो
तपाईंको निर्णयलाई सलाम
भ्रमको खेतीमा खेताला बन्ने
तपाईंको चाहनालाई सलाम।

टाउको भरि अध्यक्षको निर्देश बोकेर
नाके डोरी लगाएको भैंसी बनेर
नारा लगाउँदै हिँड्नुस् आत्मा मरेको ईश्वरको
‘जिन्दावाद ! जिन्दावाद !!’
एउटा कुरो याद राख्नुस्
मनैमन आफैँलाई मुर्दावाद ! मुर्दावाद !! भन्न पनि
नभुल्नुस् पटक्क नभुल्नुस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्