जनकपुरमा झडप, अश्रुग्यास र गोली चल्यो

लोकपाटी न्यूज

जनकपुर। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्।

नेता झाको टाउकोमा चोट लागेको छ। झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ। यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ। झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन्। त्यस्तै, शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ। शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।

बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिए। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको एसपी रानाभाटले बताए। प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका छन्। झडपमा केही प्रहरी पनि घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्