काठमाडौं : कालिका लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा लघुवित्तको नाफा १० गुणा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ८६ लाख रुपैयाँ बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९५ लाख ७५ हजार रुपैयाँ धनात्मक रहेको छ।
२५ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो कोषमा १४ करोड रुपैयाँ थियो। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९१.५८ गुणा रहेको छ।
सो अवधिसम्ममा लघुवित्तले १ अर्ब ३४ करोड रुपैयाँ सापटीबाट २ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ सापटीबाट २ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। कर्जा बढेसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ।



लोकपाटी न्यूज

