कसरी छापिन्छ नयाँ नोट ?

Money Printing Machine
लोकपाटी न्यूज

काठमाडाैं। नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ। यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ। नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ। त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ। ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पुर्‍याइन्छ। यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ।

नेपाल राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ। नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ। स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ। राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ।

छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ। समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ। बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ।

नोटको डिजाइन

नेपाल राष्ट्र बैंकमा गर्भनर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकार सम्मीलित नोट डिजाइन समिति हुन्छ। त्यसमा वन्यजन्तु विज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रबद्र्धन गर्ने भन्ने सुझाव दिन्छन्। सबै पक्षको सुझावको आधारमा नोटमा कस्ता चित्र, नम्बर समावेश गर्ने भन्ने निर्णय हुन्छ। यसपछि राष्ट्र बैंकमा नोटको डिजाईन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ।

राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रीपरिषदमा नोटको डिजाइन र डिनोमेशन स्वीकृतिका लागि पेश गरिन्छ। अर्कोतर्फ, हरेक देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन्। सबै नोटमा गर्भनरले हस्ताक्षर गर्ने होइन। गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ। यद्यपि सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाएका हुँदैनन्।

कति लाग्छ लागत ?

अझै अनौठो कुरा के छ भने एक रुपैयाँको सिक्का छाप्नका लागि डेढ रुपैयाँभन्दा बढी खर्च हुन्छ। तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केही सस्तो पर्ने बताइएको छ। त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठूलो नोटको लागत बढी पर्छ। ठूलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नका लागि लागत बढी लाग्ने स्रोतको भनाइ छ।

सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो। राष्ट्र बैंकका अनुसार एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको थियो भने पाँच सयको नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको थियो। एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा लागेको थियो भने ५० रुपैयाँको नोट छाप्न १ रुपैयाँ ४८ पैसा खर्च भएको थियो। त्यस्तै, २० रुपैयाँ दरको एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भएको थियो।

नेपालमा छैन छापाखाना

नेपालका नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसिया लगायतका मुलुकहरुमा छापिन्छन्। यद्यपि सबै मुलुकले आफ्नो देशका हरेक स्थानबाट पैसा छाप्ने भने होइन। उनीहरुले आफ्ना देशको एक स्थानको एउटा कम्पनीबाट मात्रै पैसा छाप्ने गर्दछन्। चीनले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनबाट, जर्मनीले जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच र बन्डेस डर्केरी, स्वीडेनको क्रेन एबि कम्पनि, बेलायतको डिलारु करेन्सी त्यस्तै फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसियाको पेरुम पेरुरी, नेदरल्याण्डको जोन इन्सेड बैंक नोट बिभि, क्यानडाको क्यानेडियन बैंक नोट कम्पनी लिमिटेड बाट नोटहरु छाप्ने काम हुन्छ। नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ। यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन्।

तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै ‘प्रि क्वालिफिकेसनको’ सूचीमा समावेश गर्ने गरेको छ। ‘प्री क्वालिफीकेसनमा’ परेका कम्पनिको प्राविधिक, र आर्थिक सर्वेक्षण अध्ययन गरेर मात्रै नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंगाउँछ। यद्यपि नोट छाप्नका लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ। सरकारले सुन, विदेशी सरकारहरुको ‘सेक्युरेटिज’ खरिद गरेको हुन्छ। यस्तो ‘सेक्युरेटिज’मा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ। चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ।

यो सरकारको सम्पत्ति हो। यिनै तत्वहरुसमेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो, त्यस बराबरको सम्पत्ति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ। यी विभिन्न प्रक्रिया पूरा गरी छापेको नोट सिधै बजारमा पठाइँदैन । छापिएका नोटको ‘प्रिफेक्स’ नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दासम्म त्यो नोटको मान्यता हुँदैन। त्यसैले राष्ट्र बैंकले सूचना जारी गर्नुपूर्वसम्म मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा सुरक्षित रुपमा नोट राख्छ।

सुरक्षा चिह्न किन ?

नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ। नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरीटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ। नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोट बाहिरै देखिने गरी मिलाइन्छ भने केही भाग नोटभित्र लुकेको हुन्छ, यसका साथै नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युरिटी फिचरहरु’ प्रशस्त मात्रामा राखिएको हुन्छ। नक्कली नोट बजारमा आउन नसकोस् भनेर अभिप्रायले यस्ता सुरक्षा चिह्न राखिएको हो।

च्यात्तिएका नोट के गरिन्छ ?

बैङ्कले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ। बैङ्कले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ। राष्ट्र बैङ्क ऐनको दफा ६० अनुसार बैङ्कले नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ। त्यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने, काट्ने, फुटाउने वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्छ।

नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुनः त्यो नोट राष्ट्र बैङ्कमै फर्किन्छ। केरमेट भएका, च्यातिएका, आगोले खाएका आदि पूराना नोटहरू राष्ट्र बैङ्कले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ। च्यातिएर वा आगलागी भएर वा पूर्णरूपमा काम नलाग्ने भएका नोटहरू राष्ट्र बैङ्कमा फर्किंदैनन्। बैङ्कमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मानिन्छ। तर, कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको २ तिहाइ भाग भएको खण्डमा राष्ट्र बैङ्कबाट भुक्तानी पाउन सकिन्छ।

मुलुकी ऐन खोटा चलनको महलको नम्वर–१ अनुसार सरकारी टक लागेको नोट कसैले बाहिर छाप्न, बनाउन लगाउन र बनाउन उद्योग गर्न निषेध गरेको छ। नोट छापी खोटा चलनको अपराध गर्नेलाई बिगोबमोजिम जरिवाना गरी १० वर्ष कैद सजाय हुन्छ। कसैले पनि खोटा चलन गरी सम्पत्ति आर्जन गरी त्यसको शुद्धीकरण गरेमा समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को परिच्छेद ७ बमोजिम सजाय हुन्छ ।

(यो सामग्री बैंकिङखबरबाट लिएका हौं।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • एउटा जिज्ञाशा छ, के सेन्ट्रल बैंक ले पुरानो काम नलाग्ने नोटहरू जलाएर त्यसको सिरियल नंबरहरु नयाँ नोट प्रिन्ट गर्दा प्रयोग गर्न सक्छ की नाई अथवा गर्छ की नाई? गर्दैन भने किन गर्दैन? उदाहरण सहित कारण दिनुहोस्? यसको उत्तर पाउने अपेक्षा राखेको छु। धन्यवाद!