काठमाडौं। अधिक तरलताका कारण अल्पकालीन ब्याजदरहरु तल आउन थालेपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी सेयर बजारतिर गर्न थालेका छन्। कोभिड–१९ को संक्रमण, राजनीतिक परिस्थितिमा आएको अस्थीरता लगायतका कारण बित्तीय संस्थाहरुको ब्याजदरमा गिरावट आएपछि उनीहरु शेयर बजारतर्फ आकर्षित भएका हुन्।
बैंकहरुले राष्ट्र बैंकले इजाजत दिएका विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयरमा लगानी गर्न नपाए पनि बीमा कम्पनी, नागरिक लगानी कोष, ब्यापारिक कम्पनी, होटल, नेपाल टेलिकम, जलविद्युत कम्पनीहरुमा लगानी गर्न पाउँछन्। त्यसैले उनीहरु अहिले मौद्रिक नीतिले दिएको अधिकार प्रयोग गरी शेयर बजारतर्फ आकर्षित भएका छन्।
उनीहरुलाई आफ्नो प्राथमिक पुँजीको १ प्रतिशत लगानी सेयर खरिदमा लगाउन पाउने नियामकीय प्रावधान छ। बैंकहरुले २० प्रतिशत तरल कोषमा राख्नुपर्छ। यसमध्ये ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) मा राख्नुपर्छ। यसको ब्याज आउँदैन।
बाँकी पैसा बैंकहरुले सरकारी ऋणपत्र, सेयर बजारलगायतमा लगाउन पाउँछन्। अहिले सरकारी ऋणपत्रको ब्याज दर ४ प्रतिशतभन्दा कम छ। उनीहरुले नियामकीय प्रावधान अनुसार ऋणपत्रमा लगाएपछि बाँकी पैसा सेयरतिर लगानी गर्न थालेका हुन्।
’अहिले कारोबार बढ्नुको प्रमुख कारण पनि बैंक तथा वित्तीय संस्थाको लगानी हो,’ एक बैंकका ट्रेजरी तथा लगानी विकास विभागका प्रमुखले भने, ‘राम्रो प्रतिफल दिने कम्पनीहरुमा लगानी भइरहेको छ।’ उनका अनुसार, पछिल्लो समय गरिएका लगानी अल्पकालीन (२–४ साता) प्रकृतिका छन्। नभए बैंकहरुले अलिक लामो अवधि नै लगानी गर्दै आएका थिए। सेयर बजार बढ्दो क्रममा छ। त्यसैले लगानी गर्ने, अलि अलि पैसा बनाउने र बाहिरिने रणनीतिमा सबै देखिन्छन्,’ ती प्रमुखले भने।
बैंकहरुले गर्ने सेयरको लगानी बैंकको वासलातमा ’इन्भेष्टमेन्ट’ का रूपमा देखिन्छ। अहिले बैंकहरुको ब्याज आम्दानीको तुलनामा ’अदर कम्प्रिहेन्सिभ इनकम’ बढेको छ। यो वृद्धि दरका हिसाबले तुलना गरिएको तथ्यांक हो। रकममा भने ब्याज आम्दानी नै बढी छ।
अन्य नियमित आम्दानीको वृद्धि दर घट्दा अदर कम्प्रिहेन्सिभ इन्कम बढ्नुले सेयर बजारबाट राम्रै प्रतिफल लिइरहेको भनेर बुझ्दा हुने अर्का एक बैंकका डेपुटी प्रमुख कार्यकारीले भने।
बैंक तथा वित्तीय संस्थाहरुले कुन कुन कम्पनीको सेयर खरिद गरिरहेका छन् भने अद्यावधिक तथ्यांक भने उपलब्ध छैनन्। तर, उनीहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भने कुन कुन संस्थामा लगानी छ भनेर देखिन्छ।
अहिले बैंकहरुको प्राथमिक पुँजी कोष ५ खर्ब ४८ अर्ब रुपैयाँको छ। यो मंसिरसम्मको तथ्यांकमा आधारित हो। यसमध्ये ४ खर्ब ८८ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको छ। ४३ अर्ब विकास बैंकको र १६ अर्ब ३४ करोड फाइनान्स कम्पनीहरुको छ।



लोकपाटी न्यूज

