काठमाडौं। नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई आरटीजीएस प्रणालीमा आबद्ध गराएको छ। यसअन्तर्गत ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्।
त्यस्तै आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि हालै यो प्रणालीमा थपिएका छन्। यसअघि २५ वटा वाणिज्य बैंकहरूमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ। यो प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरेर यो सेवा लिन सक्छन्।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग एकीकृत गरिएको छ । यो प्रणालीको पहुँचसँगै विद्युतीय कारोबारको आकर पनि उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
के हो त आरटीजीएस प्रणाली ?
ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि चार महिनाअघि देखि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो ।
ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।
दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ । यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।



लोकपाटी न्यूज

