मिर्मिरे लघुवित्तको नाफा ८८ प्रतिशत वृद्धि

लोकपाटी न्यूज

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८८ दशमलव ७७ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू। ७ करोड ५१ लाख नाफा कमाएको छ। यो नाफा गत आवको दोस्रो त्रैमासमा रू ३ करोड ९८ लाख थियो। चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो। सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा १२० प्रतिशत वृद्धि भएको हो।

कम्पनीको चुक्तापूँजी रू ३९ करोड ८६ लाख रहेको छ। जगेडा कोषमा रू २० करोड ५४ लाख सञ्चित गरेको छ। कम्पनीले पहिलो त्रैमासमा समावेश भएको चुक्तापूँजी रकममा निष्कासन हुन बाँकी एफपीओ रकम रू ३७ लाख २६ हजार सहित हुन गएकाले चालू आवको दोस्रो त्रैमासमा उक्त एफपीओ निष्कासन रकमलाई घटाएर पूँजी रू ३९ करोड ८६ लाख २६ हजार कायम भएको कम्पनीले जानकारी गराएको छ।

प्रतिशेयर आम्दानी रू। ३७ दशमलव ९४ प्रतिशत, मूल्य आम्दानी अनुपात ३८ दशमलव ०९ गुणा, तरलता अनुपात २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू १५१ दशमलव ५५ रहेको छ। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।