हाम्रो भविष्य जनताको हातमा छोड्छौंः पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरे। प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि उनले बताए।

देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए। पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताए। निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाई छ।

मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिए। विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने उनको भनाई छ।

कोभिड १९ विरुद्धको भ्याक्सिन आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले बताए। मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासाग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पारे।