काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र भएको बताएका छन्। शनिबार चितवन आयोजित विरोधसभामा पौडेलले भने, ‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ। खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ। लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागि हुन पाइन्छ नि।’
उनले प्रतिनिधिसभा पुनस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरे। प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएकोले सर्वोच्च अदालतले न्याय दिनेमा उनले विश्वास व्यक्त गरे। पौडेलले भने, ‘म चितवनको यो सहिदभूमीबाट न्यायमूर्तिहरुलाई सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु।’
उनले संविधनामा धारा ७६ (५) को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आमनागरिकले शंका गरिरहेको समेत बताए। पौडेलले चुनाव गराउनका लागि प्रतिनीधि सभा भंग नगरेको बताउदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताए। उनले भोली चुनाव पनि नहुने प्रतिनीधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनि प्रश्न गरे।



लोकपाटी न्यूज

