दुवै समूहलाई आयोगको पत्र : ‘आधिकारिता दावी पुग्ने प्रमाण ल्याउनू’

Prachanda-Oli.jpg01
लोकपाटी न्यूज

काठमाडौँ। निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ। आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ। दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको माग दाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ। ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताए। ‘आयोगको बैठकले गरेको निर्णयका विषयमा दुवै पक्षलाई जानकारी गराइएको छ,’ उनले भने, ‘दुवै पक्षबाट आएका पत्रहरूबारे बुझ्न खोजिएको मात्रै हो। अरू थाहा छैन।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ। तर विभाजनले औपचारिकता पाइसकेको छैन। दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन्। ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ। ‘बाहिर विवाद चर्किएको छ। तर दलको आधिकारिकतामा दाबी कुनै पक्षबाट पनि आयोगमा आएन,’ आयोग स्रोतले भन्यो, ‘त्यही भएर दुवै पक्षले आयोगमा लेखेको बेहोराअनुसारकै स्पष्टता र प्रमाण ल्याउन भनिएको छ।’

दाहाल र नेपाल पक्षका नेताहरूले पुस १० मा आयोग पुगेर नेकपाको आधिकारिकतामाथि दाबी गरेका थिए। दाहालले केन्द्रीय कमिटीको दुई तिहाइ बढी बहुमत आफूहरूसँग रहेको उल्लेख गर्दै आधिकारिकताको विवाद छिटो टुंग्याउन आयोग पदाधिकारीलाई आग्रह गरेका थिए। ‘उहाँहरूले लिखित रूपमा बुझाएको पत्रमा समेत दलको आधिकारिकताको विषय थोरै समेटिएको छ,’ आयोग स्रोतले भन्यो, ‘उहाँहरूले आधिकारिता दाबी गर्न खोज्नुभएको हो भने त्यतिले मात्रै पुग्दैन। ऐनले गरेको व्यवस्थाअनुसार प्रक्रिया पु¥याएर माग दाबी गर्नुपर्छ’ यो खबर कान्तिपुर दैनिकमा छ।