सवारीचालक अनुमतिपत्रको आवेदन खुल्यो

लोकपाटी न्यूज

काठमाडौं। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया पुनः सुरू हुने भएको छ। लाइसेन्स लिन चाहने नयाँ आवेदकले आगामी मंगलबारदेखि अनलाइन फारम भर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ।

कोरोना महामारी रोकथामका लागि सरकारले गत चैत ११ मा लकडाउन घोषणा गरेसँगै बन्द रहेको नयाँ लाइसेन्सको प्रक्रिया अझैसम्म बन्द थियो। अब नयाँ आवेदकबाट अनलाइन फारम भरेर आएपछि मिति तोकेर लिखित र ट्रायल परीक्षा लिइने विभागले जनाएको हो।

लामो समयदेखि नयाँ लाइसेन्सको अनुमतिपत्र वितरण बन्द रहँदा सेवाग्राही मर्कामा छन्। अब प्रादेशिक कार्यालयहरू मार्फत लाइसेन्सका लागि परीक्षा लिने र वितरण गर्ने व्यवस्था मिलाइने भएको छ।

स्मार्ट लाइसेन्स कार्ड ल्याएपछि विभागले मागका अनुपातमा प्रिन्टिङ क्षमता नबढाउँदा गत चैतसम्म करिब ८ लाख लाइसेन्स छाप्नै बाँकी थियो। लकडाउन र निषेधाज्ञाको अवधिमा ब्याकलगका ती सबै कार्ड छापिसकेर अब वितरण गरिरहेको विभागले जनाएको छ।

देशभरका कार्यालयले परीक्षा लिएपछि लाइसेन्स छाप्न राजधानीस्थित विभागमै पठाउनु पर्छ। सीमित संख्याको प्रिन्टिङ क्षमताका कारण विभागले छिटो तयार गरेर कार्ड पठाउन सकेको थिएन। छाप्न बाँकी सबै काम सकिएकाले अब नयाँ जारी हुने कार्डमा भने ढिलाइ नहुने विभागका अधिकारी बताउँछन्।

विभागले अब नयाँ लाइसेन्स ट्रायल पास गरेको एक महिनाभित्रै दिनेगरी तयारी भइरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्