काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माणअघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपद्बाट क्षति बढी भएको बताएका हुन्।
यस पटकको बाढी पहिरोको क्षतिलाई अध्ययन गर्दा बस्ती तथा विपद् व्यवस्थापनतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले हाम्रा भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरूको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको सन्दर्भमा समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनः विचार गर्नुपर्ने धारणा व्यक्त गरे।
मन्त्री दाहालले यस पटक बाढी पहिरोबाट मुलुकका ३९ राजमार्गको आठ सय ११ स्थानमा क्षति पुगेको जानकारी गराउँदै भने, ‘हाम्रा प्राथमिकता निर्धारण गर्दा मुलुकको राजस्वमा प्रभाव पार्ने क्षेत्र, बढी आवतजावत हुने क्षेत्रमा यातायात पूर्वाधारको विकास, आन्तरिक उत्पादनलाई बजारसम्म जोड्ने क्षेत्र तथा यात्राको दूरी घटाउने आयोजना छनोट गर्नुपर्ने देखिएकाले सोहीबमोजिमको योजना तथा कार्यक्रमलाई सरकारले ध्यान दिनेछ।’



लोकपाटी न्यूज

