काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस निकालेको छ। भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस निकालेको हो।
सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर खबरदारी सभामा परिणत हुँदैछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दै छ। विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै, माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेन्डा रहेको छ।
सतहमा आएका ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानासाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेन्डा राखिएको माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै, बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारबाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवम् प्रवर्द्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेन्डाको रूपमा अघि सारेको छ।



लोकपाटी न्यूज

