चितवन। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिएका हुन्।
सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलीय जैविक विविधतामा धनी भएको जनाउँदै उनले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ भने।
नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उनले भने, ‘गुणस्तरीय उत्पादन सामग्रीको आपूर्ति, पूर्वाधार विकासमा उच्चलागत, यान्त्रीकरण, डिजिटलाइजेशनको कमी, बजार पहुँच रहेका छन्।’ नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो।
उनले भने, ‘जलस्रोत तथा जलीय जैविक विविधता संरक्षणमासमेत विभिन्न चुनौती रहेका छन्।’ मत्स्यपालनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलव ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्ररूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो।
हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवर्द्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उनले बताए। कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्रमध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो।



लोकपाटी न्यूज

