दुई दशकदेखि न्यायको पखाइमा शुक्लाफाँटा आरक्ष विस्थापित

Shuklaphata_Pidit
लोकपाटी न्यूज

दोधारा चाँदनी। तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित नागरिकको २३ वर्ष बित्दासमेत पुनःस्थापना हुन सकेको छैन। आरक्षपीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक-पटक गरी हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ तर विस्थापितको समस्या समाधान हुन भने सकेको छैन।

सरकारले गत असोज २ गते विस्थापितको समस्या समाधानका लागि उच्च अदालतका पूर्वन्यायधीश जयानन्द पनेरुको संयोजकत्वमा छ सदस्यीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेको छ। तर विस्थापित आफूहरू पुनःस्थापना हुनेमा विश्वस्त भने छैनन्।

ढक्का शिविरमा बस्दै आएका सरेराम लोहारको रौतेली बिचवामा अढाई बिघा जमिन थियो। विसं २०३८ मा बैतडीबाट बसाइँ सरी कञ्चनपुरको रौतेलीविचवा आएका लोहार विस्थापित भएपछि निकुञ्जको मुख्य क्षेत्रको ढक्का शिविरमा बसोबास गर्दै आएका छन्। ‘हामीलाई त सरकारले घरबारविहीन बनाएको हो, २३ वर्ष भयो अहिलेसम्म न्याय पाएनौं,’ लोहारले भने, ‘जङ्गलको बास छ, उज्यालो छैन खेती गर्न पनि आरक्षको अनुमतिबिना खनजोत गर्न पाइँदैन।’

उनले विस्थापितको पुनःस्थापनाका लागि सरकारले आयोग मात्रै बनाउने गरेको बताउँदै पुनःस्थापना हुने आशा पनि मरिसकेको बताए। ‘आयोग मात्रै बन्छन् हाम्रो दुःख कसैले सुनिदिएन,’ उनले भने, ‘नेताहरू आउँछन् आश्वासन मात्रै दिएर जान्छन् राज्यले हामीलाई नागरिकको जस्तो व्यवहार गरेन।’

सरकारले हाल गठन गरेको आयोग ३३ औँ हो। विस्थापितहरू भने पुनःस्थापना हुनेमा ढुक्क छैनन्। ‘जति आयोग बने पनि हाम्रा पीडा हामीसँगै छन् सरकारले २३ वर्षसम्म हाम्रा पीडा सुनेन,’ ढक्का शिविरमा बस्दै आउनुभएका प्रेमबहादुर कार्कीले भने, ‘नेता आउँछन्, आयोगका अध्यक्ष आउँछन् आश्वासन मात्रै दिएर जान्छन् हाम्रा समस्या समाधान कहिले भएनन्।’

शिविरमा जङ्गली जनावरको भयमा बस्नु परेको उनले दुःखेसो गरे। ‘बालबालिकालाई पढाउन विद्यालय छैन बस्ती अँध्यारोमा छ राति हात्तीको बथान गाउँ पस्छ,’ उनले भने, ‘सरकारले हामीलाई उठाएर दशकदेखि बिचल्ली बनाएको छ, तर सरकार हाम्रो पीडा कहिल्यै सुन्दैन।’

पछिल्लो पटक राजेन्द्र सुवेदी नेतृत्वको आयोगले काम नै गर्न पाएन भने ठाकुरप्रसाद शर्माको नेतृत्वमा गठन भएको आयोगले विस्थापितको सङ्ख्या पहिचान गरेको थियो। शर्मा नेतृत्वको आयोगले एक हजार चार सय ८० विस्थापित परिवारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।

उक्त आयोगले विस्थापित परिवारलाई पुनःस्थापनाका लागि दुईदेखि तीन कट्ठासम्म जमिन वा पाँच लाखसम्म दिन सिफारिस गरेको थियो। निकुञ्ज विस्थापित (ढाक्का शिविर) सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि पीडामा रहेको बनाए। ‘आरक्षपीडित २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुनःस्थापना हुन सकेन,’ भण्डारीले भने, ‘अहिले ३३औँ आयोग बनेको छ यसले हाम्रो पुनःस्थापना हुन्छ भन्नेमा आशावादी त छौं।’

न्यायिक आयोगका अध्यक्ष जयानन्द पनेरुले आयोगले काम सुरु गरिसकेको बताए। ‘आयोगले काम सुरु गरेको तीन महिनाभित्र टुङ्गो लगाउने गरी म्याद तोकेको छ,’ उनले भने, ‘अहिले राजनीतिक दलका पार्टी र पीडितसँग अनौपचारिक छलफल भइरहेको छ।’

विस्थापित भएकामध्ये कतिपयको पुनःस्थापना भए पनि बाँकी रहेका हालसम्म पुनःस्थापना हुन सकेको छैन। विसं २०५८ सालमा सङ्कटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन्।

हाल विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन्। निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास छ। त्यसैगरि कृष्णपुर नगरपालिकाको वाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार चार सय ७३ परिवार विस्थापित रहेका छन्।

तत्कालीन समयमा विस्थापितलाई भीमदत्त नगरपालिका १४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका १० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो। पुनःस्थापना हुन नसकेका अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन्। निकुञ्जभित्र बसोबास गरिरहेका पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन्। जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरमा बाँच्नु परेको विस्थापित बताउँछन्। एक सय ५५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्ग किलोमिटर बनाएको थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्