काठमाडौं। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता/कार्यकर्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघर मण्डलामा शनिबार दिउँसो रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौंको माइतीघरमा प्रदर्शनकारीहरूले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट-भुटानी सरकार मुर्दावाद, सरकार मर्यो, जनतालाई जुठो पर्यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए। राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि साथ दिन रास्वपाले सबैमा अपिल गरेको थियो।
रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो। सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।



लोकपाटी न्यूज

