काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापन पत्र बझाउने भएको छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आजको बैठकले समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापन पत्र बुझाउने सहमति गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनः स्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिए। ‘खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेस गर्ने भन्ने समझदारी भएको छ,’ नेता बस्नेतले भने।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरू डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो।



लोकपाटी न्यूज

