रुसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्छ : पुटिन

Vladimir_Putin
लोकपाटी न्यूज

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन्। सत्य आफ्नो पक्षमा रहेको दाबी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन्।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रुसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ। सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रुसी भाषीलाई नव-नाजीवादबाट जोगाउने रहेको बताउँदै यसले नाजीवादीहरूलाई रुसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गरेका छन्।

पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रुस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए। ‘अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धिका लागि लडिरहेका छौं,’ पुटिनले भने।