काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय विपत्तिको समयमा पार्टीको ‘एक सय दिने विशेष अभियान’को पूर्वनिर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगित गर्ने निर्णय गरेको छ। कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले उक्त निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
उनका अनुसार केन्द्रीय प्रतिनिधिलाई आफू खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न/गराउन केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ। तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहका नेता, कार्यकर्तालाई उद्धार र राहतमा समर्पित हुन पनि बैठकले आह्वान गरेको छ।
विपद्को दुःखमा कांग्रेसको चियापान स्थगित
कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने गरेको चियापान कार्यक्रम यस पटक प्राकृतिक विपद्का कारण स्थगित गर्ने निर्णय गरेको छ। सङ्कटको समयमा सबै एक ढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले सहयोग गर्न जरुरी रहेको भन्दै कांग्रेसले सङ्घीय सांसदको १५ दिनको पारिश्रमिक गरी पार्टीकातर्फबाट ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ।
आगामी मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिएको छ। उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ।
स्थानीय तहको उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ।



लोकपाटी न्यूज

