काठमाडौं। नेपाली कांग्रेसले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
प्रवक्ता महतका अनुसार उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। ‘उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ‚’ उनले भने।
उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु भइसकेको छ। असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ।



लोकपाटी न्यूज

