हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौं : ईश्वर पोखरेल

Ishwor_Pokharel
लोकपाटी न्यूज

सिन्धुली। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। सिन्धुलीमाडीमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने बताएका हुन्।

उनले भने, ‘अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन। अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ। त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ। एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौं।’

एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अरू राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने उनको भनाइ थियो। यसैबीच उनले नेपालमा कांग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गरे। अप्ठ्यारो र सङ्कटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिस्पर्धा हुने गरेको विचार व्यक्त गरे।

‘अहिले सङ्कट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर अहिलेको समीकरण बनेको हो,’ नेता पोखरेलले भने, ‘अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौं भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौं। यो हाम्रो क्लियर धारणा छ।’