एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने बताएका छन्। आम आदमी पार्टीका राष्ट्रिय संयोजकसमेत रहेका केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उनले बताए।
आम आदमी पार्टी (आप) को कार्यालयमा पार्टी कार्यकर्तालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भने, ‘म दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु। जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन। म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।’
उनले अगाडि भने, ‘निर्वाचन केही महिनापछि हुन्छ। यदि तपाईंलाई केजरीवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस् र लाग्दैन भने नदिनुहोस्। म चुनावबाट अनुमोदित भएपछिमात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु। तपाईंको मत मेरो इमान्दारिताको प्रमाण हुनेछ।’
दुई दिन पहिले जेलबाट जमानतमा रिहा भएका मुख्यमन्त्री केजरीवालले भने, ‘आगामी फेब्रअरीमा निर्वाचन हुने बताइएको छ। म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु। निर्वाचन नहुञ्जेलसम्मका लागि पार्टीबाट अर्को कोही मुख्यमन्त्री बन्ने र यसका लागि आगामी दुई वा तीन दिनमा विधायकहरूको बैठक बस्नेछ र बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्नेछ।’
केजरीवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाए। उनले राजिनामाबारे आफूमाथि उठाइएको प्रश्नबारे भने, ‘केजरीवालले जेलबाट किन राजीनामा नदिएको भनेर प्रश्न उठेको छ। मैले लोकतन्त्र बचाउन चाहन्थेँ त्यसैले राजीनामा नदिएको हुँ।’
दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गरेको र आइतबार पार्टी कार्यालयमा उपस्थित भएका हुन्। सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उहाँलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उनी तिहाड जेलबाट रिहा भएका थिए।



लोकपाटी न्यूज

