काठमाडौं। नेपाली काङ्ग्रेसले उपसभामुख इन्दिरा राना मगरको कदमले देशको शिर झुकाएको निष्कर्ष निकालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ फर्काएको छ। बुधबार प्रतिनिधिसभा बैठकबाट रास्वपाका सांसद मनीष झाले जीवित नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा नेपालको शिर किन झुकेन ? भनेर काङ्ग्रेसलाई प्रश्न पनि गरेका छन्।
सांसद झाले १९ महिनाअघि उपसभामुखले पूर्ण ज्ञान नभएर गरेको एउटा हस्ताक्षरलाई राजनीतिक चर्चाको बार्गेनिङ प्वाइन्ट बनाएको आरोप लगाए। यसमा उपसभामुखले गल्ती भयो भनेर क्षमायाचनासमेत गरिसकेको बताउँदै उनले नेपालको मन्त्रीले सरकारी जग्गा हडपेर सरकारी ट्याक्स नतिर्दा त्यहाँ नेपालको शिर किन झुकेन ? भनेर सोधे।
‘काङ्ग्रेसले भनेको छ, उपसभामुखले नेपालको शिर झुकाउने काम गर्नुभयो भनेर,’ सांसद झाले प्रश्न गर्दै भने, ‘नेपालीका शिर त्यो बेला किन झुकेन, जुन बेला नेपालीलाई शरणार्थी भनेर पठाइयो ? नेपालको शिर किन झुकेन मन्त्रीले सरकारी जग्गा हडपेर तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दा ?’
उपसभामुख मगरले नजानेर गल्ती गरेको उनको भनाइ थियो। सांसद झाले अगाडि भनेका छन्, ‘पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। नजानेर गल्ती गर्नुभयो। गल्ती भयो भनेर उहाँले माफी मागिसक्नु भएको छ। तर, अहिले आएर यसलाई बार्गेनिङ प्वाइन्ट बनाइयो।’



लोकपाटी न्यूज

