इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

काठमाडौं। नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई हाल महालक्ष्मी-४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई हाल महालक्ष्मी-५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका-९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा निजहरूलाई पक्राउ गरिएको हो। अमेरिकन राजदूतावास नजिकबाट पक्राउ परेका निजहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्