काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले विश्वविद्यालय दलहरूका पार्टी प्यालेसजस्तो भएको टिप्पणी गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री र गृहमन्त्रीका पार्टी निकट विद्यार्थी संगठनबीचको लडाईंका कारण विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पढ्न र जाँच दिन नपाएको बताइन्।
उनले विश्वविद्यालयमा पढाई कम राजनीति बढी हुने पनि बताइन्। ‘विश्वविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ,’ उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी। पार्टीको लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने ?’
परीक्षा नहुँदा कृषि, वन र भेटेनरीमा स्नातक तहका ११ सय विद्यार्थी रोकिन पुगेको उनले बताइन्। दुई विद्यार्थी संगठनको लडाईंमा पढ्छुमात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाएको उनले बताइन्। सांसद श्रेष्ठले नेपाल कृषिप्रधान देश भएको र अबका दिनमा यान्त्रीकरणमा जाने भनिरहँदा विश्वविद्यालयमा परीक्षा तथा पठनपाठन ठप्प भएको भन्दै आक्रोश पोखिन्। जेनतेन पढाई गरेकाहरूले समयमा दीक्षित हुन नपाएको पनि उनले बताइन्।
‘विद्यार्थीहरूलाई के गर्न सिकाउँदैछौं ? न पढ्न दिन्छौं, तालाबन्दी गर्छौं। जेनतेन पढेर जाँचमा जान्छौं। जाँच पनि राम्ररी हुन दिँदैनौं। दीक्षित भएपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौं,’ सांसद श्रेष्ठले भनिन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा उनले प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि प्रश्न पनि गरिन्।
‘अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कुलपतिको कार्यक्षमतामाथि पटक-पटक प्रश्न उठ्न थाल्यो,’ उनले भनेकी छन्, ‘राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ ?’ कुनै पनि बहानामा विद्यार्थीको जीवनमाथि खेलबाड नगर्न सांसद श्रेष्ठले खबरदारी गरिन्।



लोकपाटी न्यूज

