प्रधानमन्त्री ओलीका कारण त्रिवि पदाधिकारी कार्यकक्षमा जान सकेनन् : सांसद श्रेष्ठ

Sumana_Shresth
लोकपाटी न्यूज

काठमाडौं। पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताएकी हुन्।

‘सानो हुँदा पढेको थिएँ, बलभन्दा बुद्धि ठूलो। अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने, धेरै सांसदहरूले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भन्दाखेरी हैन, बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पठाइयो, विभागीय प्रमुखको लागि। यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो। यो यतिमा मात्र सीमित रहँदैन। यसमा कार्यक्षमता, नियतको पनि प्रश्न उठ्छ,’ उनले भनिन्।

एमालेको विद्यार्थी संगठनका नेताले सरश्वती क्याम्पसमा चिट चोराउन नदिएको भन्दै परीक्षा नियन्त्रकलाई कुटेको पनि श्रेष्ठले बताइन्। उनले भनिन,’ साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे। क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक भए। त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री। शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ। राजनीति चाहिन्छ। शिक्षकले राजनीति गर्नुपर्छ। प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही। टुप्पोमा पनि उही। यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुर्पयो। मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ।’

शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेका र त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्य क्षमतामा प्रश्न उठेको उनले बताइन्। त्रिविमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक नै प्रधानमन्त्री केपी शर्मा ओली भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्