काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन्।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
संसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउने छन्।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्। यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।



लोकपाटी न्यूज

