काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई पाँच वर्षसम्म कायम राख्न प्रधानमन्त्रीको निर्देशन

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल समाधान गर्न निर्देशन दिएका हुन्।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिएर आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल भएको थियो। सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने बताएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा. भोला थापालाई स्पष्ट पार्न समय दिए। पूर्व उपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपति ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न भनेका हुन्। प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिएका छन्।

गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको बताउँदै ओलीले खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ।सभाले आगामी २९ औँ दीक्षान्तका लागि विभिन्न संकायबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्