अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना : पाइलटको मृत्यु

helicopter-crash
लोकपाटी न्यूज

काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डको केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। पाइलटलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो। होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था सामान्य छ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो। प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो।

त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो। स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो। हेलिकप्टरमा पाइलटमात्र सवार थिए।