धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन्। काँग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दलका नेता शाहलाई अघि सार्ने निर्णय भएसँगै उनी मुख्यमन्त्रीमा दोहोरिने भएका हुन्।
बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको काँग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका सांसद मेघराज खड्काले जानकारी दिए। शाह एमालेको समर्थनमा दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुवै दलका सांसदहरू प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न गएका छन्।
नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली काँग्रेसको भागमा पारिएको थियो। एमाले-माओवादीसहितको गठबन्धन बनेपछि अलपमतमा परेका उनले गत चैत २२ चैत राजीनामा दिएका थिए। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेसका १८ र एमालेका ११ सांसद छन्।



लोकपाटी न्यूज

