जो आर्थिक तथा सामाजिक मुद्दाहरूको विशेषज्ञ होइन, उसलाई समाजवाद विषयमा आफ्ना विचार प्रकट गर्ने सल्लाह दिन उचित हो र ? मलाई के लाग्छ भने अनेकौं कारणले गर्दा यो कुरा उचित हो।
खास हामी सबैभन्दा पहिले वैज्ञानिक ज्ञानको दृष्टिबाट यस प्रश्नबारे विचार गरौँ। कस्तो लाग्न सक्छ भने नक्षेत्र विज्ञान र अर्थशास्त्रको बीचमा पद्धतिसम्बन्धी सारभूत भिन्नता छैनन्, यी दुवै क्षेत्रका वैज्ञानिकहरूले वस्तुस्थितिको सीमित शृङ्खलासम्बन्धी आमरूपमा स्वीकारयोग्य नियमहरू पत्ता लगाउने प्रयास गरी ती वस्तुस्थितिहरूका अन्तरसम्बन्धहरूलाई सकेसम्म स्पष्टरूपले बोधगम्य बनाउने उद्देश्य राख्छन्, तर वास्तवमा यस्ता पद्धतिसम्बन्धी भिन्नताहरू विद्यमान छन्।
अर्थशास्त्रको क्षेत्रका आम नियमहरू पत्ता लगाउने काम कुन परिस्थितिले गर्दा कठिन हुन आउँछ भने अवलोकन गरिएका आर्थिक घटनाहरू प्रायःजसो अनेकौं तत्वहरूबाट प्रभावित भएका हुन्छन्, जसलाई छुट्टाछुट्टै मूल्यांकन गर्न ज्यादै गाह्रो हुन्छ। त्यसबाहेक, राम्ररी जानिएको कुरा के हो भने मानव समाजको तथाकथित विकसित अवधिदेखि सञ्चित हुन थालेको अनुभव हरप्रकारले आर्थिक प्रकृति भएका कारणहरूबाट व्यापकरूपले प्रभावित र सीमित हुन गएको छ। उदाहरणका लागि इतिहासका अधिकांश राज्यहरूको अस्तित्व जीतसँग गाँसिएको छ। जित्ने मानिसहरूले आफूलाई कानुनी तथा आर्थिक दृष्टिबाट जितिएका देशको विशेष सुविधाप्राप्त वर्गका रूपमा स्थापित गरे। उनीहरूले भूमिमाथिको स्वामित्वमा एकाधिकार कायम गरे र आफ्नै बीचबाट पुरोहितगण नियुक्त गरे। शिक्षामाथि आफ्नो नियन्त्रण भएका पुरोहितहरूले समाजको वर्ग विभाजनलाई स्थायी संस्थाको रूप दिएर एउटा मूल्यप्रणालीको विकास गरे। अनि सोही मूल्यप्रणालीद्वारा त्यसपछि असचेत रूपबाट मानिसहरूलाई निकै हदसम्म उनीहरूको सामाजिक व्यवहारमा निकै ठूलो मात्रामा खास दिशातर्फ डोर्याए।
तर, भनूँ भने ऐतिहासिक परम्परा भनेको हिजोको कुरा हो; थोस्टाइन भेव्लेनले इतिहासको जुन चरणलाई मानवीय विकासको “लुटेरा चरण” भनेका छन्, हामीले कहीं पनि त्यसमाथि विजय प्राप्त गर्न सकेका छैनौं। त्यस चरणका अवलोकन गर्न सकिने आर्थिक तथ्यहरू र तिनबाट प्राप्त गर्न सकिने त्यस्ता नियमहरू इतिहासका अन्य चरणहरूमा लागू हुनसक्ने खालका छैनन्। समाजवादको उद्देश्य मानवीय विकासको त्यो लुटेरा चरणमाथि विजय प्राप्त गरी त्यसभन्दा अघि बढ्नु भएकाले आर्थिक विज्ञानको वर्तमान अवस्थाले भविष्यको समाजवादी समाजमाथि ज्यादै कम प्रकाश पार्न सक्छ।
दोस्रो कुरा, समाजवाद सामाजिक आचारसम्बन्धी उद्देश्यतर्फ लक्षित छ तर विज्ञानले भने उद्देश्यहरूको सिर्जना गर्न सक्दैन, त्यस्ता उद्देश्यहरू मानिसहरूमा सञ्चार गर्ने त कुरै नगरौ, विज्ञानले हदै भए त्यस्ता साधनहरूको आपूर्ति गर्न सक्छ जसद्वारा खास उद्देश्यहरूलाई पूरा गर्न सकियोस् तर त्यस्ता उद्देश्यहरूको परिकल्पना स्वयम् उच्चस्तरीय आचारसम्बन्धी आदर्श भएका व्यक्तित्वहरूबाट हुन्छ र ती उद्देश्यहरू मृत अवस्थामा जन्मेका नभई जीवन्त र सशक्त छन् भने तिनलाई ती थुप्रै मानिसहरूले अंगीकार गरी अघि बढाउँछन्, जसले अद्र्धसचेत रूपबाट समाजको मन्द गतिको क्रमिक विकासको निर्धारण गर्छन्।
यी कारणहरूले गर्दा मानवीय समस्याहरूको प्रश्न उठ्दा हामीले विज्ञान र वैज्ञानिक पद्धतिहरूलाई ज्यादा महत्व दिने कुराप्रति सतर्क रहनुपर्छ र समाजको सङ्गठनमा प्रभाव पार्ने प्रश्नहरूबारे रहनुपर्छ। विचार प्रकट गर्ने अधिकार विज्ञहरूलाई मात्र छ भन्ठान्नु हुँदैन।
मानव समाज सङ्क्रमणको बीचबाट गुज्रिरहेको छ र यसको स्थायित्व गम्भीर रूपले क्षतविक्षत भएको छ भनी केही समययता असङ्ख्य आवाजहरू प्रकट भइरहेका छन्। यो यस्तो परिस्थितिको लक्षण हो, जसमा व्यक्तिहरू आफू सदस्य रहेका साना वा ठूला समूहप्रति उदासिनता, अझ शत्रुताको भाव राख्छन्। आफ्नो आशयलाई प्रस्ट्याउनका लागि म यहाँ एउटा निजी अनुभव अभिलेखबद्ध गर्न चाहन्छु। मैले हालसालै एक जना मेधावी र सुशील मानिससँग अर्को युद्धको खतराबारे कुरा गरेको थिएँ। मलाई के लाग्छ भने त्यस युद्धले मानव जातिको अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न गर्नेछ।
कुराकानीको क्रममा अन्तरजातीय संगठनले मात्र त्यस खतराबाट मानव जातिलाई संरक्षण प्रदान गर्न सक्छ भनी मैले टिप्पणी गरेँ। त्यसपछि मेरा आगन्तुकले ज्यादै सहज र शान्त ढंगले मलाई सोधेः होइन, मानव जाति बिलाएर जाने कुराप्रति तपाईंमा किन यति गहिरो विरोध रहेको हो ?
म के कुरामा निश्चित छु भने कम्तीमा पनि एक शताब्दीअघि कसैले पनि यति हलुका ढंगले यस्तो कुरा भन्दैनथ्यो। यो आन्तरिक सन्तुलन प्राप्त गर्ने प्रयास व्यर्थ भएको र सफलताको आशा झन्नैजसो गुमेको मानिसको भनाइ हो। यो त्यस्तो पीडादायी एक्लोपना र अलगावपनाको अभिव्यक्ति हो, यसको निकास छ ? जसबाट अचेल थुप्रै मानिस पीडित छन्। यसो हुनाको कारण के हो ? के यसको निकास छ ?
यस्ता प्रश्नहरू उठाउन सजिलो छ तर केही निश्चयका साथ तिनको जवाफ दिन भने सजिलो छैन। हुन त हाम्रा भावनाहरू र प्रयासहरू अक्सर विरोधाभाषी र बुझ्न नसकिने खालका हुन्छन् र तिनलाई सजिला र सरल सूत्रहरूमा प्रकट गर्न सकिँदैन भन्ने कुरामा म ज्यादै सचेत जतिसम्म सक्छु, त्यति त मैले जवाफ दिन कोशिश गर्नैपर्छ।
मानिस एक्लो प्राणी हुनाको साथसाथै सामाजिक प्राणी पनि हो। एक्लो प्राणीको हैसियतले उसले आफ्नो र उसका नजिकका आफन्तहरूको अस्तित्वको रक्षा गर्न, आफ्ना निजी इच्छाहरूलाई तृप्त गर्न र आफ्ना अन्तर्निहित क्षमताहरूको विकास गर्न कोशिश गर्छ। सामाजिक प्राणीको हैसियतले उसले आफ्ना सहमानवहरूबाट मान्यता र स्नेह प्राप्त गर्न, उनीहरूका भागीदार बन्न, दुःखमा उनीहरूलाई सान्त्वना दिन र उनीहरूका रहनसहनका अवस्थाहरूमा सुधार ल्याउन कोशिस गर्छ।
यी विविध प्रकारका, अक्सर आपसमा टकराव पर्ने प्रयासहरूले नै मानिसको विशेष चरित्रको निर्माण गर्छन् र ती कुराहरूको विशिष्ट योगले नै कुनै व्यक्तिले कुन हदसम्म आन्तरिक सन्तुलन प्राप्त गर्नसक्छ र समाजको कल्याणमा योगदान गर्नसक्छ भन्ने कुराको निर्धारण गर्छन्। के कुरा एकदमै सम्भव छ भने यी दुईथरी प्रेरकहरूको सापेक्ष बल मुख्यतया पैतृक गुणहरूबाट निश्चित हुन्छ तर मानिसमा परन्तुमा उदय हुने व्यक्तित्वचाहिँ मुख्यरूपले आफ्नो विकासको क्रममा मानिस जुन वातावरणमा हुन्छ, मानिस समाजको जुन संरचना र परम्पराअन्तर्गत हुर्किन्छ, ती कुराहरूको साथसाथै समाजले सराहना गर्ने खास प्रकारको व्यवहारले निर्माण गर्छन्।
व्यक्तिविशेषका सन्दर्भमा “समाज” भन्ने अमूर्त धारणाको अर्थ उसका समकालीनहरू र अघिल्ला पुस्ताहरूका सारा मानिसहरूसितका उसका प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्धहरूको कुल योग हो। व्यक्ति आफै सोच्न, अनुभूति गर्न, कार्य हुन्छ तर आफ्नो शारीरिक, बौद्धिक र संवेगात्मक अस्तित्वका लागि ऊ समाजमाथि कति धेरै निर्भर रहन्छ भने समाजको ढाँचाबाहिर उसको अस्तित्वको कल्पना गर्न र उसलाई बुझ्न असम्भव छ। समाज नै त्यो वस्तु हो जसले मानिसलाई भोजन, पोसाक, घर, काम गर्ने औजारहरू, विचारका स्वरूपहरू र विचारका धेरैजसो विषयहरू जुटाइदिन्छ, उसको जीवन समाज भन्ने सानो शब्दको पछिल्तिर लुकेर रहेका विगत र वर्तमानका दशौँ लाख मानिसहरूको श्रम र प्राप्तिहरूबाट सम्भव भएको हुन्छ।
त्यसकारण के कुरा स्वयम्सिद्ध छ भने व्यक्तिको समाजमाथिको निर्भरता कमिला र मौरीहरूको निर्भरताझैँ उन्मूलन गर्नै नसकिने खालको प्राकृतिक तथ्य हो तर कमिला र मौरीहरूको सारा जीवन प्रक्रियाका मसिनाभन्दा मसिना कार्यकलापहरू एकदमै निश्चित प्रकारका वंशानुगत सहज प्रवृत्तिहरूबाट निर्धारित हुन्छन् भने मानिसका सामाजिक ढाँचा र अन्तरसम्बन्धहरूचाहिँ ज्यादै विविध र परिवर्तनीय हुन्छन्। नयाँ कुराहरू जोडजाड गर्नसक्ने क्षमता भएको स्मरणशक्ति र बोलीद्वारा भाव प्रकट गर्नसक्ने गुणहरूले मानिसहरूको विकासलाई सम्भव तुल्याएका हुन्छन्। यी गुणहरू जीववैज्ञानिक आवश्यकताहरूबाट सञ्चालित भएका हुँदैनन्। यसप्रकारका विकासहरू परम्परा, संस्था र सङ्गठनहरूमा, साहित्य, वैज्ञानिक र इञ्जिनियरिङसम्बन्धी प्राप्तिहरू र कलाकृतिहरूमा व्यक्त हुन्छन्। यस कुराले मानिसको खास अर्थमा उसको आफ्नो आचरणद्वारा कसरी आफ्नो जीवनमाथि प्रभाव पार्न सक्छ र यस प्रक्रियामा कसरी सचेत चिन्तन र चाहनाले भूमिका खेल्छन् भन्ने कुराको व्याख्या गर्छ।
मानिसले वंशानुगत गुणमार्फत जन्मजातरूपले यस्तो जीववैज्ञानिक संरचना प्राप्त गर्छ, जसलाई हामीले निश्चित र अपरिवर्तनीय ठान्नुपर्छ। यसमा मानिसरूपी जीवका विशेष गुणहरूको रूपमा रहेका प्राकृतिक प्रेरकहरू पनि पर्छन्। त्यसबाहेक, आफ्नो जीवनकालमा मानिसले सांस्कृतिक संरचना प्राप्त गर्छ। उसले यो संरचना सञ्चारको माध्यमले र अरू अनेक प्रकारका प्रभावहरूको माध्यमले समाजबाट प्राप्त गर्छ।
समयको क्रममा बदलिने यो सांस्कृतिक संरचना नै व्यक्ति र समाजबीचको सम्बन्धलाई निकै नै बढी मात्रामा निर्धारण गर्ने तत्व हो। आधुनिक मानवशास्त्रले कथित आदिम संस्कृतिहरूको तुलनात्मक शोधखोजमार्फत हामीलाई के कुरा सिकाएको छ भने विद्यमान सांस्कृतिक ढाँचाहरू र समाजमा प्रभुत्वशाली रहेका संगठनका प्रकारहरूको आधारमा मानिसहरूको सामाजिक व्यवहारमा ठूलो अन्तर हुन सक्छ। मानिसहरूको भाग्यमा सुधार ल्याउन जमर्को गरिरहेका मानिसहरूले यस कुरामा आफ्ना आशाहरू टिकाउन सक्छन् : मानिसहरू आफ्नो जीववैज्ञानिक संरचनाका कारण एकअर्कालाई ध्वस्त पार्न वा निष्ठुर, आफैँ लादिएको भाग्यद्वारा अभिशप्त छैनन्।
मानव जीवनलाई सम्भव भएसम्म सन्तोषजनक बनाउनका निमित्त समाजको संरचना र मानिसको सांस्कृतिक प्रवृत्तिलाई कसरी परिवर्तन गर्न भनेर हामीले आफैँलाई सोध्ने हो भने हामीले निरन्तररूपबाट सचेत रहनुपर्ने तथ्य के हो भने हामी कतिपय खासखास अवस्थाहरूलाई बदल्न असमर्थ छौँ। माथि चर्चा गरिएझैं मानिसको जीववैज्ञानिक संरचना सबै व्यावहारिक प्रयोजनहरूका लागि परिवर्तन हुने खालको छैन।
अर्को कुरा, विगत केही शताब्दीका प्राविधिक तथा समुदाय विशेषका जन्म, मृत्यु र रोगहरूको स्थितिसम्बन्धी विकासहरूले त्यस्ता अवस्थाहरूको सिर्जना गरेका छन्, जुन मानिसहरूले त्यस्ता अवस्था सिर्जना गरेका छन्, जुन अवस्थाहरू कायमै रहनेछन्। तुलनात्मक रूपमा घना बस्तीहरूमा बसोबास गर्ने मानिसहरूको अस्तित्वको निरन्तरताका लागि अति आवश्यक हुन आउने वस्तुहरूको आपूर्ति गर्न चर्को श्रम विभाजन र अति केन्द्रीकृत उत्पादन–यन्त्र अत्यन्तै आवश्यक हुन्छन्। फर्केर हेर्दा, ज्यादै शान्तिपूर्ण र आनन्दमग्न जस्ता लाग्ने व्यक्तिहरू वा तुलनात्मक रूपले साना समूहहरू पूर्णरूपले आत्मनिर्भर हुनसक्ने जस्तो लाग्ने त्यो समय अब सधैका लागि गइसकेको छ। मानव जाति अहिले नै उत्पादन र उपभोगका दृष्टिले भूमण्डलव्यापी समुदाय बनिसकेको छ भन्नु थोरै मात्र बढाइचढाइ हो।
अब म एउटा नयाँ विन्दुमा आइपुगेको छु। मेरो दृष्टिमा यहाँनेर हाम्रो युगको संकटको सार के हो भन्ने कुरा म छोटकरीमा औँल्याउन सक्छु होला। यो संकट व्यक्ति र समाजको सम्बन्धसित गाँसिएको छ। व्यक्ति समाजमाथिको आफ्नो निर्भरताप्रति जति सचेत भएको छ, त्यति सचेत यसअघि कहिल्यै पनि भएको थिएन, तर उसले यस निर्भरतालाई सकारात्मक पुँजीका रूपमा, एक आंगिक सूत्रका रूपमा, संरक्षणकारी शक्तिका रूपमा नभई आफ्ना नैसर्गिक अधिकारहरू वा अझ आफ्नो आर्थिक अस्तित्वमाथिको खतराका रूपमा अनुभव गरेको छ। अझ त्यसमाथि, समाजमा उसको स्थान कस्तो छ भने उसको मनोरचनामा रहेका अहंकारी प्रेरकहरू निरन्तर रूपबाट जब्बर हुँदैछन् भने उता स्वाभाविक रूपले कमजोर रहेका उसका सामाजिक प्रेरकहरूचाहिँ गुणात्मक रूपले झन्झन् कमजोर हुँदैछन्। थाहै नपाइकन आफ्नो अहंकारका कैदी भएर मानिसहरू असुरक्षित, एक्लो, जीवनको अकृत्रिम, सरल र जटिलतारहित आनन्दबाट वञ्चित भएको अनुभव गर्दैछन्। मानिसले आफूलाई समाजप्रति समर्पित गरेर मात्र यो छोटो र विपत्युक्त जीवनको अर्थ फेला पार्नसक्छ।
आज पुँजीवादी समाजमा जस्तो आर्थिक अराजकता कायम छ, मेरो विचारमा खराबीको वास्तविक स्रोत त्यही नै हो।
हामी आफ्नो अगाडि उत्पादकहरूको विशाल समुदाय देख्छौँ। यस समुदायका सदस्यहरू एकअर्कालाई आफ्नो समष्टिगत श्रमका फलहरूबाट वञ्चित गर्न, बलको आधारमा नभई समग्ररूपमा कानुनीरूपले स्थापित नियमहरूको बफादारीसाथ पालना गर्दै निरन्तर रूपले सङ्घर्ष गरिरहेका छन्। यस सम्बन्धमा के कुरा बुझ्नु जरूरी छ भने उत्पादनका साधनहरू अर्थात् उपभोग्य सामानहरूको साथसाथै अतिरिक्त पुँजीगत वस्तुहरूको उत्पादन गर्नका लागि आवश्यक पर्ने सारा उत्पादक क्षमताको अधिकांश भाग कानुनी रूपबाट व्यक्तिहरूको निजी सम्पत्तिका रूपमा कायम रहेको छ।
यसपछिको छलफलमा सरलताको निमित्त म उत्पादनका साधनहरूमा कुनै साझेदारी नभएका सबै मानिसहरूलाई श्रमिकहरू भन्नेछु। हुन त यस शब्दको प्रचलित प्रयोगसँग यस कुराले एकदमै मेल खाँदैन। उत्पादनका साधनहरूको मालिक श्रमिकको श्रम खरिद गर्ने स्थितिमा हुन्छ। श्रमिकले उत्पादनका साधनहरू प्रयोग गरी नयाँ मालहरू उत्पादन गर्छ र ती मालहरू पुँजीपतिको सम्पत्ति बन्छन्। यस प्रक्रियाबारे महत्वपूर्ण कुरा श्रमिकले कति उत्पादन गर्छ र उसलाई ज्याला कति दिइन्छ भन्ने कुराका बीचको सम्बन्ध नै हो। यी दुवै चीजलाई वास्तविक मूल्यको दृष्टिबाट नापिन्छ। श्रमको करार गर्ने कार्य “स्वतन्त्र” भएमा श्रमिकले जति प्राप्त गर्छ, त्यो उसले उत्पादन गर्ने वस्तुहरूको वास्तविक मूल्यबाट नभई उसका न्यूनतम आवश्यकताहरूबाट तथा रोजगारीको निमित्त प्रतिस्पर्धा गरिरहेका श्रमिकहरूको सङ्ख्याको सापेक्षतामा पुँजीपतिहरूलाई आवश्यक पर्ने श्रम शक्तिबाट निर्धारित हुन्छ। यहाँनेर के कुरा बुझ्नु जरूरी छ भने सिद्धान्तको तहमा समेत पनि श्रमिकको ज्याला उसको उत्पादनको मूल्यबाट निर्धारित हुँदैन।
आंशिकरूपमा पुँजीपतिहरूबीचको प्रतिस्पर्धाको कारणले र आंशिकरूपमा प्राविधिक विकास तथा बढ्दो श्रम विभाजनले गर्दा निजी पुँजी थोरै मानिसहरूका हातमा केन्द्रित भएर उत्पादनका सानातिना एकाइहरूलाई निल्दै उत्पादनका ठूला एकाइहरूको जन्म हुने कुरालाई प्रोत्साहन मिल्छ। यी विकासहरूको नतिजास्वरूप निजी पुँजीको निरंकुशता पैदा हुन्छ, जसको अजंग ठूलो शक्तिलाई लोकतान्त्रिक ढंगले संगठित राजनीतिक समाजले समेत पनि प्रभावकारीरूपले नियन्त्रण गर्न सक्दैन। यो कुरा किन सत्य हो भने विधायिकाका सदस्यहरूको छनोट निजी पुँजीपतिहरूद्वारा ठूलो वित्तीय लगानी वा अरू उपायद्वारा प्रभावित भएका राजनीतिक पार्टीहरूबाट हुन्छ। यी पुँजीपतिहरूले सबै व्यवहारिक प्रयोजनका निमित्त मतदाताहरूलाई विधायकहरूबाट अलग्याउँछन्। यसको परिणाम के हुन्छ भने जनताका प्रतिनिधिहरूले वास्तवमा जनसमुदायको सुविधाबाट बञ्चित गरिएको भागका हितहरूलाई पर्याप्त मात्रामा संरक्षण गर्दैनन्।
अर्को कुरा, विद्यमान अवस्थाहरूमा निजी पुँजीपतिहरूले अवश्यम्भावी रूपबाट सूचनाका प्रमुख स्रोतहरू (प्रेस, रेडियो, शिक्षा) माथि प्रत्यक्ष वा परोक्ष रूपले नियन्त्रण कायम गर्छन्। यसप्रकार, व्यक्ति नागरिकलाई वस्तुनिष्ठ निष्कर्षहरू निकालेर आफ्ना राजनीतिक अधिकारहरूलाई चतुर्याइँसाथ प्रयोग गर्न अत्यन्तै कठिन र धेरैजसो मामिलाहरूमा त साँच्ची नै बिल्कुलै असम्भव हुन्छ।
यसप्रकार, दुई मुख्य सिद्धान्तद्वारा पुँजीको निजी स्वामित्वमा आधारित अर्थव्यवस्थाअन्तर्गत विद्यमान स्थितिको चित्रण गर्न सकिन्छ। पहिलो, उत्पादनका साधनहरू (पुँजी) निजी स्वामित्वमा रहेका हुन्छन् र स्वामीहरूले आफूलाई ठीक लागेको बेलामा तिनलाई थन्क्याइदिन्छन्। र दोस्रो, श्रमको करार स्वतन्त्र हुन्छ। यस अर्थमा विशुद्ध पुँजीवादी समाज भन्ने कुरा साँच्ची नै हुँदैन। खास गरेर के कुरामा ध्यान पु¥याइनुपर्छ भने लामा र कठिन राजनीतिक संघर्षहरूमार्फत श्रमिकहरू, खास किसिमका श्रमिकहरूको हकमा “श्रमको स्वतन्त्र करार”को केही सुधारिएको स्वरूप प्राप्त गर्न सफल भएका छन्, तर समग्र रूपमा लिने हो भने आजको अर्थव्यवस्था विशुद्ध पुँजीवादभन्दा उति धेरै फरक छैन।
उत्पादन उपभोगका लागि नभई मुनाफाका लागि गरिन्छ। काम गर्नसक्ने र काम गर्न चाहने सबै मानिस सधैं रोजगारी पाउने स्थितिमा होऊन् भन्ने कुराको कुनै प्रबन्ध छैन, “बेरोजगारहरूको फौज” प्रायः सधै रहिरहन्छ। श्रमिकलाई सधैँ आफ्नो रोजगारी गुम्ला कि भन्ने डर भइरहन्छ। बेरोजगार र थोरै ज्याला पाउने श्रमिकहरूले मुनाफादार बजार उपलब्ध नगराउने हुनाले उपभोग्य वस्तुहरूको उत्पादनलाई सीमित तुल्याइन्छ। अनि यसको परिणामस्वरूप ठूलो कष्ट आइलाग्छ। प्रायः प्राविधिक प्रगतिको परिणामस्वरूप सबै श्रमिकहरू माथिको श्रमको बोझ हलुंगो हुनुको सट्टा झन् बढी बेरोजगारी आइलाग्छ।
पुँजीपतिहरूको मुनाफा कमाउने इच्छा र उनीहरूका बीचको प्रतिस्पर्धाको संयुक्त परिणाम नै पूँजीको सञ्चय र उपयोगमा अस्थिरता हुनु हो। यस अस्थिरताले अर्थव्यवस्थालाई बढ्दो मात्रामा कडा मन्दीहरूतर्फ डोर्याउँछ। असीमित प्रतिस्पर्धाबाट श्रमको अजङ्ग ठूलो बर्बादी हुन्छ र व्यक्तिहरूको सामाजिक चेतना पङ्गु हुन्छ। यसबारे मैले माथि नै चर्चा गरिसकेको छु।
व्यक्तिहरूको चेतनालाई पङ्गु तुल्याउने कार्यलाई म पुँजीवादको सबैभन्दा चुत्थो खराबी ठान्छु। हाम्रो सिङ्गो शिक्षा पद्धति यस खराबीबाट ग्रस्त छ। विद्यार्थीको दिमागमा एकदम बढाइचढाइ गरेर प्रतिस्पर्धा गर्ने प्रवृत्ति घुसाइन्छ र उसलाई उसको भावी वृत्तिको तयारीका रूपमा साह्रै लालची सफलताको पूजा गर्ने प्रशिक्षण दिइन्छ।
यी गम्भीर खराबीहरूलाई निर्मूल पार्ने उपाय एउटै मात्र छ भन्ने कुरामा म विश्वस्त छु। त्यो उपाय सामाजिक लक्ष्यहरूतर्फ फर्केको शिक्षा प्रणाली भएको समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु हो। यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनहरू समाजको स्वामित्वमा रहन्छन् र तिनको उपयोग योजनाबद्ध ढंगले गरिन्छ।
उत्पादनलाई समुदायका आवश्यकताहरूसित तालमेल गराउने खालको योजनाबद्ध अर्थव्यवस्थाले काम गर्नसक्ने जति सबैलाई काम बाँडिदिनेछ र हरेक पुरूष, महिला र बालकको जीविकाको ग्यारेन्टी गर्नेछ। व्यक्तिको शिक्षाले ऊभित्र रहेका गुणहरूको प्रवर्धन गर्नुबाहेक उसमा हाम्रो वर्तमान समाजमा रहेको शक्ति र सफलताको गौरव गाउने प्रवृत्तिको सट्टा आफ्ना सहमानवप्रति जिम्मेवारीको भावना विकसित गर्नेछ।
तर, योजनाबद्ध अर्थव्यवस्था हुँदैमा समाजवाद भइहाल्दैन भन्ने कुराको हेक्का राख्नु जरूरी छ। योजनाबद्ध अर्थव्यवस्थामा व्यक्तिको पूर्ण दासता रहेको हुन सक्छ।
समाजवादलाई प्राप्त गर्नका निमित्त कतिपय अत्यन्तै कठिन सामाजिक–राजनीतिक समस्याहरूको समाधान गर्नु जरूरी हुन्छ। जस्तो कि राजनीतिक तथा आर्थिक शक्तिको दूरगामी केन्द्रीकरणको अवस्थामा नोकरशाहीलाई सर्वशक्तिमान् र अत्यन्तै अहंकारी हुनबाट कसरी रोक्ने हो ? व्यक्तिका अधिकारहरूको संरक्षण कसरी गर्न सकिन्छ र त्यसबाट कसरी नोकरशाहीको शक्तिलाई काबुमा राख्ने लोकतान्त्रिक शक्तिलाई सुनिश्चित तुल्याउन सकिन्छ ?
हाम्रो सङ्क्रमणको युगमा समाजवादका उद्देश्य र समस्याहरूबारे स्पष्ट हुनु सबैभन्दा बढी महत्वको कुरा हो। वर्तमान परिस्थितिमा यी समस्याहरूबारे स्वतन्त्र र बेरोकटोक रूपले छलफल गर्ने कुरामा कठोर बन्देज लागेको हुँदा यो पत्रिकाको स्थापनाले महत्वपूर्ण सार्वजनिक सेवा प्रदान गर्ला भन्ने म ठान्छु।
(सबैभन्दा पहिले सन् १९४९ मा मासिक समीक्षाको प्रवेशाङ्कमा प्रकाशित।)



लोकपाटी न्यूज

