काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस-एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन्। नेपाल नगरपालिका संघका पदाधिकारीहरुसँगको छलफलमा आज उनले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगरप्रमुखहरुलाई आग्रह गरे।
‘राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौं।’
उनले नगरप्रमुखहरुलाई संघीय गठबन्धनको गतिमा काम गर्न आग्रह गरेका छन्। ‘यो गठबन्धन तलमाथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुस्,’ उनले भने। उपप्रधानमन्त्री पौडेलले वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने बताए। ‘वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु,’ उनले भने।



लोकपाटी न्यूज

