चितवन। पूर्व-पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुर महानगरपालिका आएका छन्। शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उनले अन्तरक्रिया गरेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ। ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लागेका छन्। कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा. पुनको अभियान सकारात्मक रहेको बताइन्।
राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो। ‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उनले भनिन्,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ। आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन।’
प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गरिन्। प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा. पुनले बताए। ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उनले भने, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु।’
नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए। उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ।



लोकपाटी न्यूज

