संविधानमा सामयिक संशोधन एमालेसँग सहमति गर्नुपर्‍यो : काँग्रेस

prakash_Sharan_mahat
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो।

बैठकमा काँग्रेस प्रमुख सचेतक रमेश लेखकले काँग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराएका थिए। सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो।

बैठकपछि काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाएको जानकारी दिए।

आगामी निर्वाचनसम्म एमाले र काँग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उनले बताए। -रासस