सन्दर्भ, राष्ट्रियसभा निर्वाचन : चुनाव हार्दैमा क्षमता गुम हुँदैन

Lokpati Logo
लोकपाटी न्यूज

नेपालको संविधान अनुसार १९ सिटको लागि सम्पन्न गर्नुपर्ने राष्ट्रियसभाको निर्वाचन हिजोसम्म भयो। निर्वाचन परिणाम अनुसार हाल सरकारमा रहेको गठबन्धनले १८ सिट प्राप्त गरेको छ। सरकारको प्रतिपक्षी बनेको दल नेकपा एमालेलाई एक सिट हात लागेको छ। गठबन्धन सरकारमा प्रमुख दलको रुपमा सामेल भइरहेको दल नेपाली काँग्रेसका मतदाताबाट हुन गएको एक भोटको अन्तर्घातले १९ वटै सिट विजयको लक्ष्य बोकेको गठबन्धन एक सिट गुमाउन पुग्यो। यस निर्वाचनबाट संसदीय दलको हैसियत पनि फेरबदल हुन पुगेको छ। तेस्रो नम्बरमा रहेको नेकपा माओवादी दोस्रो ठूलो दल बन्यो भने दोस्रो ठूलो दलमा रहेको एमाले तेस्रो दलको रूपमा झरेको छ।

गठबन्धनमा देखिएको एकताले यो गठबन्धन अझै आवश्यकताको पुष्टि भएको सहभागी एक नेताले बताए। उनको भनाइ छ, संसदीय पद्धतिविरुद्ध आज सडकमा जुन किसिमका अफवाहहरू फैल्याइएको छ, त्यसविरुद्ध दह्रिलोसँग उभिन पनि अहिले यो गठबन्धनको विकल्प छैन। यस अलावा अब केही आशातीत उपलब्धिहरू बोक्नै पर्ने छ। सीमित स्रोत साधन र असीमित आकांक्षाहरू बीच सरकारले आफूलाई व्यवस्थित रूपले अगाडि लान जरुरी छ। जनतामा देखिने विकास अहिले चाहिएको छ। जनताका समस्याका मर्महरू छुने विकास अहिले चाहिएको छ। सुशासनमा देखिएका कमजोरी पत्ता लगाएर उपचार गर्न जरुरी छ।

चुनाव सकियो, चुनावी माहौल भने गरमागरम छ। यस पटक चुनावमा उठाएका उमेदवारहरूको विषयमा त्यसमा पनि साना दलहरूले यसलाई आकाशको फल जस्तै देखेको कारण बहस सेलाइसकेको छैन। खास गरी प्रतिनिधिसभा चुनावमा हरेपछि त त्यो व्यक्तिलाई जनताले नपत्याएको हो भन्ने भनाइ उठेका छन्। चुनावमा उठ्ने त दलहरू हुन्। भोट दिने जनता, कुन न कुनै दलमा लागेकै हुन्छन्। हार्ने जित्ने भनेको त प्राविधिक कुरा हो। कसलाई थाहा हुन्छ र ? यस पटक हार्नेले अर्को पटक त्यही जितेका पनि छन्, जितेकाहरू हारेका पनि छन्।

चुनाव हार्दैमा त्यो व्यक्ति नराम्रो हुने हो ? असक्षम अयोग्य व्यक्तिले मात्र चुनाव हार्ने हो ? कि राष्ट्रियसभा भागबन्डा गर्ने थलो हो ? हिजो सम्पन्न चुनावपछि यी प्रश्नहरू जटिलरूपमा उठेका छन्। राष्ट्रियसभालाई विज्ञ सेवा प्रदान गर्ने, कानुन र सरकारलाई उत्तरदायी बनाउने, नियमन, निर्देशन तथा संसदीय सुनुवाइ गर्ने जिम्मेवारी पूर्ण र स्थायी प्रकृतिको संस्थाको रूपमा लिइन्छ।

कुनै समय प्रतिनिधिसभा नरहन पनि सक्दछ। हिजो कुनै समय प्रतिनिधिसभा विघटनका प्रयास नभएका होइनन्। इतिहास ताजै छ। आफ्नै नेतृत्वको दुई तिहाइको सरकारसमेत गर्ल्यामगुर्लम ढाल्ने दुष्साहस चल्छ शासक बन्ने दौडमा। उनीहरूलाई मनोपली गर्नसक्ने अधिकार बोकेको बादशाहको नशा प्रश्न सक्दछ। त्यस्तो बेलामा नेपाल जस्तो संवेदनशील भौगोलिक-राजनीतिको धरातलमा उभिएको देशले अप्रत्याशित र अप्रिय घटना व्यहोर्नु पर्ने हुन्छ। यो हुन नदिने शक्तिको रूपमा राष्ट्रियसभाको भूमिका महत्त्वपूर्ण हुनेछ। यस अलावा यस्ता राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता सम्बन्धी सवालमा राष्ट्रियसभाले पहरेदारको भूमिका खेल्न सक्दछ।

सांसदले पारित गरेका कयौँ काँचा विधेयकहरूलाई परिपक्व बनाउने र संसद्को आँखा खोलिदिन सक्ने अधिकारसमेत राष्ट्रियसभालाई छ। यसको अर्को मूल पक्ष के छ भने राष्ट्रियसभामा राष्ट्र देखिनु पर्दछ। प्रतिनिधिसभामा राष्ट्रका हरेक सामाजिक, सांस्कृतिक क्षेत्रको सन्तुलित प्रतिनिधित्व नहुन सक्दछ। प्रतिनिधिसभामा देखिएको अभाव राष्ट्रियसभामा झल्काउने सोचसहित अभ्यास यसले बोकेको हुन्छ। यस्तो संवेदनशील र महत्त्वपूर्ण सभामा प्रतिनिधिसभामा चुनाव हार्ने व्यक्ति आउन हुन्न भन्ने कुरामा कुनै तुक देखिँदैन। यी त वस्तुगत परिस्थितिले सिर्जना गर्ने कुरा हुन्। प्रतिनिधित्व सक्षम र असक्षम भनेर जुन सवाल उठाइएको छ, सक्षमता र असक्षमता कुनै पढाइको डिग्रीले नापेर नापिने कुरा हैन। यो भ्रमबाट पहिला मानिस मुक्त हुन पर्दछ।

आज पालिकाहरूमा गएर अध्ययन गरे थाहा हुन्छ, विकास निर्माणमा सबैभन्दा इमानदार भएर लाग्ने र दिएको समयमा, तोकेको क्षेत्रमा सबैभन्दा धेरै परिणाममा र राम्रो काम गर्नेमा महिला समूहले गरेको काम देखिएको छ। पढाइको लाइसेन्स(डिग्री) उनीहरूको छैन। चार पास पनि छैनन्। थरथर हात कमाउँदै नाम लेख्छन्। तर, तिनीहरूले राखेको हिसाबमा एक अंक अक्षर तलमाथि हुँदैन। जहाँ डिग्री होल्डर मिलेर गरेका छन्, त्यहाँ कहाँबाट कति कसरी मिलाउने र कसरी जेनतेन कामको परिमाण पुर्‍याउने भन्ने सोचमा चिन्तित देखिन्छन्। कामप्रतिको लगावभन्दा यसबाट कति लिन सकिन्छ ? के गरेर लिन सकिन्छ ? कुन ठेकेदार खोजे बढी लिन सकिन्छ ? योभन्दा प्रायःको दोस्रो सोचाइ भएको पाइँदैन।

राष्ट्रियसभाका सांसदहरूको जुन आफूलाई बुद्धिजीवी मानिदिएका, समाजले पत्याइदिएका भन्नेहरूले जुन मोलतोल गरिरहेछन्, यो उनीहरूले कति व्यवहारमा टेकेर बोलिरहेका छन् ? कति धरातलमा उभिएर बोलिरहेका छन् ? उनीहरू आफै अनविज्ञ छन्। हिजोको निर्वाचनमा जो जति क्षेत्र र विषयबाट परिवेश र परिस्थितिबाट विधिसम्मत, नियमसम्मत, कानुनसम्मत निर्वाचित भएर आएका छन्, यी सक्षम छन्। आफ्नै क्षेत्रमा एउटा इतिहास बनाएका छन्, देशको लागि जीवनको धेरै अंश चुकाएका छन् र भोलिका दिनमा पनि यो धर्म निभाउन सक्षम छन् र संविधान सभाको मर्यादालाई जीवन्त तुल्याउँदै सफल सभासद् बनेर देखाउने छन्। ‘सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभा अपरिहार्य छ भनी राष्ट्रियसभाको मूल भावनामा समेटिएको यथार्थलाई वस्तुपरकरूपले चरितार्थ गर्न, निर्वाचित सबै सदस्यहरू सक्षम छन् र सफल हुनेछन् भन्ने विश्वासका साथ सबैलाई सफल कार्यकालको शुभकामना। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्