माडी नगरपालिकाद्वारा सुत्केरी पशुलाई भत्ता

madi_nagarpallika
लोकपाटी न्यूज

चितवन। माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ। नगरभित्र रहेका गाईभैंसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो। भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ।

नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार सुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो।

माडी क्षेत्रमा भँैसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो। भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ। बीमा अनिवार्य गरेपछि यस वर्ष एक सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ।

पशुलाई सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए। पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले पाँच प्रतिशत बेहोर्ने गरी काम गरिँदै आइएको छ। बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक रु १२ लाख विनियोजन हुँदै आएको छ। माडीमा चालु आर्थिक वर्षमा ६ सय ५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकामा छ सय गाई र ५३ भैँसी छन्।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्