भरतपुर। चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताए । “दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन”, उनले भने, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।
यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यान्टी मायाँले भनिन् । “खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो”, उनले भनिन्, “अरू खसी बजार लगेर बेच्ने तयारीमा छु ।”
कोयलघारीकै डाेपबहादुर गुरुङलाई विगत्को वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उनले बताए । खसीबोका बिक्रीबाट गुरुङले दसैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन् । उनले पाँच दिन अगाडि खसीबोका बिक्री गरेका हुन् । “यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ”, उनले भने।
कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा छिन् । यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उनले बताइन्। “३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो”, उनी भन्छिन्, “छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।” प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उनले सुनाइन् । खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २० बाख्रा छन् । गाई भैँसी कम पाल्दै आएका उनीहरूको मुख्य आम्दानी बाख्रा नै हो । अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन् ।
अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो छ सय रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताए । पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेचेका छैनन्”, उनले भने, “उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गरेका छन् ।” अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ । दसैँमा खसीबोकाको कारोबार भने यकिन नभएको उनले बताए ।



लोकपाटी न्यूज

