काठमाडौं। दही स्वादिलो पेय हो। त्यसैले त प्राय नेपाली भान्सामा दहीको उपयोग हुन्छ। दही नरुचाउने कमै हुन्छन्। खानामा दहीको प्रयोग धेरैले गर्दछन्। दहीका परीकार वा यसलाई प्रयोग गरेर बनाइने परीकारको छुट्टै स्वाद हुन्छ। दही हाम्रो स्वास्थ्यका लागि अत्यधिक लाभदायक हुन्छ। दहीलाई पोषक खाद्यान्नका रूपमा लिइन्छ। दहीमा क्याल्सियम, सोडियम, पोटासियम र भिटामिन पाइन्छ। पोषक मात्र नभई औषधीय गुण पनि हुन्छ यसमा।
दहीले मधुमेहलाई सन्चो गर्छ भन्ने मान्यता छ। पोषणविद्का अनुसार दहीले मांसपेशी र हाड बलियो बनाउँछ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। पाचन प्रक्रियामा सहयोग गर्छ। पखाला लाग्दा दही खाए थामिन्छ। मान्छेलाई राम्रो गर्ने गुण भएकैले यसलाई परापूर्वकालदेखि नै महत्त्वपूर्ण खाद्य वस्तुका रूपमा लियो। त्यति मात्र होइन, दहीलाई हिन्दु धर्म अनुसार, सगुन अर्थात् शुभ संकेतका रुपमा लिइन्छ। कुनै काम सुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ।
यस्ता छन् दही खानुका फाइदा
- मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई पनि दही फाइदाजनक मानिन्छ। ख्याल गर्नुपर्ने कुरा दहीले कोलस्टेरोल बढाउन सक्छ।
- नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ। पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ।
- तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस्। यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ।
- दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ। गर्मीमा दही पिएर घरबाट निस्किँदा ‘लू’ लाग्ने खतरामा पनि कमी हुन्छ।
- दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाडसमेत बलियो बनाउँछ।
- हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस्, यसलाई तपाईंलाई फाइदा पुर्याउँछ।
- दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ।
- दहीले कपालको सुन्दरतासमेत बढाउँछ। दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिँदैन।
- दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ।
दही स्वास्थ्यका लागि गुणकारी मानिन्छ। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ। स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकै पटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। यदि दहीको सेवन गरेपछि शरीरमा केही असर देखापरे तत्काल आफ्नो डाक्टरसँग परामर्श लिनु बुद्धिमानी हुन्छ।



लोकपाटी न्यूज

