कस्तो खानपिनले हड्डी कमजोर बनाउँछ ?

Bone_Haddi_health
लोकपाटी न्यूज

काठमाडौं। स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिँडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ। हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ। हड्डी एउटा जीवन्त तन्तु हो। जन्मेदेखि नै यसमा निरन्तर परिवर्तन भइरहन्छ। यसको लम्बाइ र गोलाइमा वृद्धि भइरहन्छ। यो क्रम बढ्दो उमेरसम्म निरन्तर चलिरहन्छ।

हड्डीमा क्याल्सियमका लवण पनि थपिँदै जान्छ, जसले हड्डीको घनत्व बढाउँदै जान्छ। हड्डीको घनत्व बढ्ने यो क्रम ३० वर्षको उमेरसम्म निरन्तर रहन्छ। सामान्यतः उमेरको तेस्रो दशकपछि भने वार्षिक रूपमा ०.१५ का दरले हड्डीको घनत्व घट्दै जान्छ। हड्डीको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकासक्रममा व्यक्तिले गर्ने खानपान र शारीरिक तन्दुरुस्तीले निर्धारण गर्छ। हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ। बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र भिटामिन ‘डि’को कमी, अस्तव्यस्त जीवनशैली, सुर्तीजन्य र मदिराको सेवन, मोटोपन लगायतका कारणले हड्डी कमजोर हुन्छ।

हड्डीलाई बलियो राख्नका निम्ति भरपुर मात्रामा क्याल्सियम र भिटामिन ‘डी’को आवश्यकता पर्दछ। आजभोलिको भागदौडपूर्ण जीवनशैलीले गर्दा मानिसहरूले आफ्नो खानपानमा सन्तुलन मिलाउन सकिरहेका हुँदैनन्। व्यस्त जीवनशैलीको कारण धेरै मानिसले आफ्नो भान्छामा पाकेको कुराभन्दा बजारमा सहजरुपमा उपलब्ध हुने खाना खाने गर्दछन्। बजारमा पाइने रेडीमेड, फास्टफुडको सेवन अधिक मात्रामा गरेको पाइन्छ। यस्तो अस्वस्थ खानपानले स्वास्थ्यमा कस्तो खालको प्रभाव पारेको हुन्छ भन्ने विषयमा प्राय मानिस अज्ञात हुन्छन्। अस्वस्थ खानपान र जीवनशैलीले हाम्रो हड्डीमा समेत नकारात्मक असर पुर्‍याइरहेको हुन्छ। कस्तो खानपानले हड्डीमा असर गर्छ ?

१. सोडियम युक्त खानेकुरा बढी मात्रामा नुनको प्रयोग गर्नाले हड्डीलाई कमजोर बनाउँदै जान्छ। हामीले सेवन गर्ने प्रत्येक २,३०० मिलिग्राम सोडियमले ४० मिलिग्राम क्याल्सियमलाई नष्ट पार्दछ। बढी मात्रामा नुनको सेवन गर्ने व्यक्तिमा ओस्टियोपोरोसिस देखिने सम्भावना बढी हुन्छ, अर्थात हड्डी कमजोर हुने अवस्था जसमा हड्डी भाँच्चिएर जान पनि सक्छ।

२. गुलियो सेवन मिठाई भन्ने बित्तिकै मन नपर्ने व्यक्ति सायदै होलान्। तर, धेरै मात्रामा गुलियो सेवन गर्नाले पनि हड्डीलाई कमजोर बनाउन सक्छ। यसले रगतमा ग्लुकोजको मात्रालाई बढाएर हड्डीको फरमेसनमा बाधा पुर्‍याउँदछ ।

३. क्याफिनको सेवन बढी मात्रामा क्याफिनको सेवन गर्नाले हड्डीको डेंसिटीलाई कम गराउँदछ। जति नै बढी यसको सेवन गरिन्छ, त्यति नै क्याल्सियम नष्ट भएर जान्छ। त्यसैले अधिक मात्रामा यसको सेवन गर्नाले जटिलता निम्त्याउन सक्छ।

४. मदिरा सेवन मदिरापनले शरीरमा क्याल्सियम अवरोधकको रुपमा काम गर्दछ। साथ साथै यसले हड्डीको डेन्सिटी पनि कम गराउँदछ।

५. सोडाजन्य पदार्थको सेवन बढी मात्रामा सोडा पिउनाले पनि हड्डीलाई कमजोर बनाउँदै जान्छ। यसको सेवन अत्यधिक मात्रामा गरियो भने यसले हड्डीको घनत्वलाई घटाएर ओस्टियोप्रोसिसलाई बढवा दिन्छ। यसको सेवनले हड्डीलाई गलाउँदै लिएर जान्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्