काठमाडौं। नेपाली काँग्रेसले सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक अपिल जारी गरेर धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन्।
केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता प्रकट गरे। उनले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने चिन्ता प्रकट गरे। धरानको अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरू सद्भाव कायम राख्न एकजुट हुनुपर्ने देउवाले बताएका छन्।
अपिलमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जात-जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दक्खल पुर्याउन पनि उचित हुँदैन।’




लोकपाटी न्यूज

