आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो। दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ। यो अन्य अंगहरूको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नुपर्दछ। अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरू देखा परेर ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ।
तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ। आँखामा देखिने विभिन्न समस्याहरूमध्ये आँखा पाक्ने समस्या एक प्रमुख समस्या हो। सामान्यतयाः बाह्रै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रूपमा बढी हुन्छ।
गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरूमा गर्मी महिनामा नै यस्तो समस्याहरू बढी देखिन्छ। तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याई सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ।
किन पाक्छ आँखा ?
आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो। जसकारण यो एक ब्यक्तिबाट अर्कोमा सर्ने पनि हुन्छ। आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्कोमा सर्ने हुन्छ।
यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ। डाक्टरको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरूको प्रयोग र ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग लाग्दछ।
रोगका लक्षणहरू
– आँखा रातो हुनु।
– आँसु आइरहनु।
– आँखा पोल्नु।
– कचिरा आउने तथा आँखा बिझाएजस्तो हुनु।
– घाममा हिड्न गाह्रो हुनु।
– उज्यालोमा हेर्न नसकिनु।
– आँखा सुख्खा भएर चिलाउनु।
– दृष्टि धमिलिँदै जानु।
– आँखा तथा आँखा वरपरको भाग सुन्निनु।
– उपचार तथा बच्ने उपाय
यो रोग सरुवा रोग भएकोले जुनसुकै ब्यक्तिबाट जो कोहीलाई पनि सर्नसक्ने हुन्छ। सुरुवाती दिनमा यो रोगले खासै समस्या नपारेता पनि उचित समयमा उचित उपचार नगरेको खण्डमा यसबाट ब्यक्तिको आँखाको ज्योती नै गुम्न सक्ने डर हुन्छ। त्यसकारण बच्न निम्न उपाय अपनाउनुपर्छ।
– सकेसम्म बिरामीको सम्पर्कबाट टाढा बस्ने।
– आँखा सफा राख्ने।
– आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन।
– अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने।
– जथाभावी औषधिको प्रयोग नगर्ने।
– आँखाको सरसफाइमा विशेष ध्यान दिने।
– फोहोर हात वा हात नपखाली आँखा नमाड्ने।
– आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोहीअनुरूप औषधिको प्रयोग गर्ने।



लोकपाटी न्यूज

