काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति सदस्य डा. आरजु राणा देउवाले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताएकी छन्। पार्टी कार्यालय सानेपामा चौथो दिन जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले क्रियाशील सदस्यता लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता अप्रुभ गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘प्रशिक्षण सञ्चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ।’ संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने उनको भनाइ थियो। नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताइन्। आरजुले सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा पनि राखिन्।
उनले भनिन्, ‘ओपनमा क्रिटिसाइज नगरौं। राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो। कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानपर्यो। हाम्रो भोट हामी आफैँ काटिरहेका छौं।’ आरजुले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन एनजिओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी पनि गरिन्। उनले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्ताबेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजिओको विसलिस्ट जस्तो भएको बताइन्।
‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने या हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अलिकति अचम्मित पनि भएँ। किन भने महामन्त्रीको प्रतिवेदनमा एउटा राजनीतिक दस्ताबेज हुन्छ होला सोचेकी थिएँ,’ उनले भनिन्, ‘तर उहाँहरूले ल्याउनु भएको प्रस्ताव राजनीतिक दस्ताबेज भन्दा पनि एनजिओको ‘विस लिस्ट’ जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त ? त्यो कुरा क्लियर भएन।’
पार्टी भित्रको सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क थियो। आरजुले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिए। उनले भनिन्, ‘निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनै पर्छ भनेको छ। हाम्रो पार्टीको योजना के हो ? लास्टमा गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लबी गरौं। हामीले पहिला पनि लबी गरेको हो। अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन्। समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ! महिला-महिलाबीच प्रतिस्पर्धा गरेर एक तिहाइ सिट पठाऔं हामी।’
यस्तै, उनले दलित पनि सधैँ समानुपातिकमा आउने कुरा नहुने भनाइ राखिन्। उनले भनिन्, ‘त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन पर्यो। उहाँहरू जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटिभन्दा नराख्ने राम्रो कुरा हो। खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने। पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ?’



लोकपाटी न्यूज

