काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले सोमबार एक विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।
‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रस्तुत कसुरको तथ्यगत विषयलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा केही समाचार प्रकाशित भएकामा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
ब्युरोले ललिता निवास प्रकरणको अनुसन्धानका क्रममा विभिन्न निकाय र महानुभावबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको बताएको छ र आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको छ। सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्षरूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षासमेत गरेको छ।
साथै तथ्यपरक, निष्पक्ष र व्यावसायिकरूपमा प्रस्तुत कसुरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा ब्युरो प्रतिबद्ध रहेको समेत बताएको छ।



लोकपाटी न्यूज

