ओखलढुङ्गा। नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्री तथा काँग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताएका हुन्।
देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व. राईको योगदान अतुलनीय रहेको बताउँदै उनले प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी छ भने। उनले भने, ‘इतिहास मात्रै भजाएर अब काँग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ।’ काँग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरू लागेको नेता रिजालको भनाइ थियो।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरेका थिए। प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले स्व. राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि संघर्षरत नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको बताए।



लोकपाटी न्यूज

