काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान गर्न सक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको जिकिर गरे।
‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ। अनेकौं खाले अन्योलयताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो। तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ। जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजस्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु,’ अर्थमन्त्री महतले भने।
कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी बजेट विनियोजन नगरेको उनको भनाई छ। आफूले निष्पक्ष रूपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको उनको दाबी छ। अर्थमन्त्री महतले भने, ‘मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आम नागरिकको आकंक्षाअनुसार ल्याएको छु, सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखी लोभ मोह नराखी अघि बढाएको छ।’
उनले आगामी आर्थिक वर्षको बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताए। तर, आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेमा अर्थमन्त्री महतले विश्वास व्यक्त गरे।



लोकपाटी न्यूज

