मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल

Saroj_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन्। उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए। तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो। चाँडै नै उनको परिचयमा निर्देशक थपिँदैछ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउँछन्। ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो। त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो। त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजसम्म पुर्‍याउनुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे। मलाई छायांकनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो।’

आफूलाई कथा वाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे। किनकि उनीहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त थिए। तर, उनीहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन।

‘मैले छायांकनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताएन। केबल चरित्र र दृश्यलाई सम्झाए,’ अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए। उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायांकन सकेका थियौं।’

सयौँ चलचित्रमा अभिनय गरिसेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए। त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन्। आफैँले धेरै चलचित्रमा सहकार्य गरेको अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन्।

‘अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो। यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ। साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ,’ उनले भने। चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ।

चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको संघर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताए। उनले भने, ‘मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन्। त्यसपछि उनको जीवनशैली नै फेरियो। ती बहिनी एक्लो भएको मैले महसुस गरेँ,’ उनले भने, ‘बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन। केही वर्ष अगाडि उनको पुनः विवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु। ती बहिनी बल्ल जीवन बाँचेकी छिन्।’

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाए। आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उहाँको योजना छ। यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए। चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।

स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन्। प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्