बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री तुम्लिङ्टारमा

PM_Pahiro
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन्।

अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी सङ्खुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन्। प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, सहानुभूतिका साथै उद्धार र राहत तथा बेपत्ताको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी संघसंस्थालाई अपिल गरे। उनले तत्काल सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की रहेका छन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उनका साथमा छन्। प्रधानमन्त्री प्रचण्डले आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिनेछन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्