गण्डकीको बजेट साढे ३३ अर्ब

Bajet_Gabdaki
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८.१ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६०.४ प्रतिशत) विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.५ प्रतिशत) छुट्याइएको छ।

प्रदेशको आम्दानीमा संघ सरकारबाट सशर्ततर्फ ४ अर्ब ९४ करोड १५ लाख रुपैयाँ, समानीकरणतर्फ ७ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।

आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ। डायलाइसिसको प्रतीक्षामा रहेकाको संख्या शून्य पुर्‍याउने उद्देश्य प्रदेश सरकारले लिएका छ। सरकारले क्यान्सरपीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षभित्र प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ। चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो। कुल बजेटमध्ये वैशाख मसान्तसम्म १२ अर्ब ८४ करोड ९० लाख रुपैयाँ (३५.७८) प्रतिशत खर्च भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्