उत्पादनको आधारमा अनुदान दिने तयारीमा छौं : अर्थमन्त्री

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्। अर्थ मन्त्रालयमा बिहीबार विभिन्न कृषक संगठनका प्रतिनिधिसँगको भेटमा उनले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो। कृषि लगायत अन्य उत्पादक कृषकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो। यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ। स्थानीय उत्पादनलाई महँगो बनाउँदैन।’

उनले अगाडि थपे, ‘सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने गर्छन्। अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ। त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं। त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ। उत्पादनकर्ता पनि उत्साहित हुन्छन्। पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन। उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ। उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ।’

अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताए। उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयहरूलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए। भेटमा प्रतिनिधिहरूले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरूको समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्