समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउँछौं : प्रचण्ड

Prachand
लोकपाटी न्यूज

दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्। दाङमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी लिइएको बताएका हुन्।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’

उनले अगाडि थपे, ‘हिजोको एकता कायम राख्न सम्भव भएन। तर लाखौं जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन। फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्ताबेज टुंगाएका छौं। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।’

जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने उनले बताए। प्रधानमन्त्री प्रचण्डले देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउन पर्ने बताए। यसभित्र ठूलो अर्थ रहेको उनले बताए। ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौं,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्